धनगढी । प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दार्चुला पुगेर पुलको शिलान्यास गरेका छन् । ब्यास गाउँपालिकाको वडा नम्बर २ स्थित दुम्लिङमा रहेको घट्टेखोलामा झोलुङ्गे पुलको शिलान्यास गरिएको हो ।
नेपाल-भारत सीमा नदी महाकालीमा पुल निर्माणको चर्चा भइरहेकोमा सीमा नजिकै रहेको खोलामा पुलको शिलान्यास गरिएको हो । श्रमदान गरेरै पुल निर्माण गर्ने योजना रहेको साम्पाङको टिमले बताउँदै आएको छ । महाकाली नदीमा नभएर घट्टे खोलामा पुलको शिलान्यास गरिएको ब्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले बताए । `त्यो खोलाभन्दा केही सय मिटर टाढा महाकाली नदी छ,´ शिलान्यासमा पुगेका धामीले भने । उक्त खोलामा यसअघि काठे पुल रहेको बताइएको छ ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले पनि नेपालको आन्तरिक खोलामै पुल निर्माणको शिलान्यास गरिएको बताए । पुल शिलान्यास कार्यक्रममा दार्चुलाबासीका पीडा सुनेर साम्पाङ भक्कानिएका थिए । उनले आफू पार्टी विस्तारका लागि नभई दार्चुलाबासीलाई राहत दिन पुल निर्माण गर्न लागेको बताए । `यहाँका समस्या समाधानका लागि आवाज पनि उठाउने छु,´ उनले भने ।



