धनगढी । सशस्त्र प्रहरीले कैलाली र कञ्चनपुरका सीमा क्षेत्रमा जनशक्ति थप गरेको छ ।
सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरीका गुल्म तथा बीओपीलाई सुरक्षार्थ मद्दत गर्न एवंम् उनीहरुमाथि निगरानी समेत गर्नेगरि जनशक्ति थपिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय, अत्तरियाले सीमा क्षेत्रको सुरक्षा व्यवस्था प्रभावकारी बनाउन दुवै जिल्लामा जनशक्ति जनाएको छ । दुवै जिल्लामा ९०–९० जना गरी १८० जना सशस्त्र प्रहरी परिचालन गरिएका छन् । उनीहरुलाई ३०–३० जनाको समूहमा बाँडेर तीन वटा छुुट्टाछुुट्टै टोली तयार पारिएको छ ।
सीमा क्षेत्रमा रहेका सीमा सुरक्षा गुल्म, बीओपी तथा अन्य युनिटहरूको कामकारबाहीको अनुगमनलाई थप प्रभावकारी बनाउन, अवैध रुपमा हुने चोरी–तस्करी नियन्त्रण गर्न र समग्र सीमा सुरक्षालाई मजबुत बनाउन अतिरिक्त जनशक्ति खटाइएको हो ।



