धनगढी । डडेल्धुरामा सवारीचालक अनुमति पत्र (लाइसेन्स) सेवा प्रभावित भएको छ । यातायात व्यवस्था कार्यालयको आफ्नो ट्रायल सेन्टर नभएकाले लाइसेन्स सेवा अवरुद्ध हुने देखिएको हो ।
यातायात व्यवस्था कार्यालय डडेल्धुराले एक निजी ड्राइभिङ सेन्टरसँग सम्झौता गरेर लाइसेन्स सेवा दिँदै आएको थियो । तर, उक्त सम्झौता खारेज गरिएपछि अव प्रयोगात्मक परीक्षा बन्द हुने देखिएको हो ।
यातायात व्यवस्था कार्यालय डडेल्धुराले एक सूचना जारी गर्दै उग्रतारा ड्राइभिङ सेन्टरसँग भएको सम्झौता खारेज गरेको जनाएको छ । कार्यालय प्रमुख विष्णुदत्त भट्टका अनुसार २०७९ असारदेखि सो ड्राइभिङ सेन्टरसँगको सम्झौता अनुसार ड्राइभिङ सेन्टरको ट्रायल सेन्टर प्रयोग गर्दै सवारीचालक अनुमति पत्र सेवा दिइँदै आएको थियो । तर, पछिल्ला दिनमा सेवाग्राहीबाट सवारीसाधन प्रयोग गरेबापत अनावश्यक शुल्क लिएको भन्दै व्यापक जनगुनासो आएपछि सम्झौता तोड्ने निर्णय गरिएको हो ।
यो निर्णयसँगै अब लाइसेन्स सेवा सुचारु गर्न यातायात व्यवस्था कार्यालयलाई आफ्नै ट्रायक सेन्टर बनाउनुपर्ने दबाब छ । यातायात व्यवस्था कार्यालयले आफ्नै ट्रायल सेन्टर निर्माण गर्न अमरगढी नगरपालिका स्याउले बजार नजिकै सरकारी जमिन हेरेर विस्तृत परियोजना विवरण तयार गरिसकेको जनाएको छ । तर, उक्त जमिन सामुदायिक वन र प्रहरी चौकीको भन्ने विवादले काम गर्न सकिएको थिएन ।
सेवा नै बन्द हुने अवस्थामा यातायात कार्यालयसंग अन्य दुई विकल्प पनि छन् । निजी जमिन भाडामा लिई आवश्यक संरचना निर्माण गर्ने वा ट्रायल परीक्षा अन्य जिल्लामा गर्ने विकल्प पनि यातायात कार्यालयसंग छ ।



