
बझाङ । बझाङ प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा मतदाताको उत्साह कम देखिएको छ । शनिवार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानका क्रममा मतदाताको उत्साह कम देखिएको हो ।
निर्वाचन आयोगका अनुसार बझाङको प्रदेश सभा १ मा ५१ प्रतिशत हाराहारी मतदान भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार बझाङमा ५४ प्रतिशतसम्म मतदान होला भन्ने अपेक्षा थियो ५० देखि ५१ प्रतिशत हाराहारी भएको छ । उनले सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भएको जानकारी दिए ।
मतदान सकिएसंगै शनिबार नै सबै मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम चैनपुर ल्याउने कार्य भइरहेको छ । साइपाल गाउँपालिका लगायतका विकट क्षेत्रबाट भने मतपेटिका हेलिकोप्टरबाट ल्याउने तयारी छ ।
सो क्षेत्रबाट निर्वाचित नेपाली काँग्रेसका प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको गत वर्ष सडक दुर्घटनामा मृत्यु भएको पछि सो क्षेत्रमा उपनिर्वाचन भएको हो ।
११ जना उम्मेदवार रहेको सो क्षेत्रबाट मुख्य दलहरू नेपाली काँग्रेसले स्व. सिंहको जेठा छोरा अभिषेकबहादुर सिंह, नेकपा (एमाले) ले दमन भण्डारी, नेकपा (माओवादी केन्द्र ) का जनक बुढा र नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहलाई उम्मेदवार बनाएको छ ।