Paschim Express
गेटा अस्पतालमा उपकरण खरिदमा विवाद, नयाँ निर्देशकमाथि मिलेमतोको आरोप

कैलाली । गेटा अस्पतालको पछिल्लो उपकरण खरिद प्रक्रिया विवादमा तानिएको छ। अस्पतालमा नयाँ निर्देशकका रूपमा नियुक्त भएका डा. प्रदीपकुमार यादवमाथि मिलेमतोमा ठेक्का प्रक्रियालाई अघि बढाएको आरोप लागे पनि उनले ती आरोपलाई अस्वीकार गर्दै सबै प्रक्रिया कानुनी दायराभित्रै भएको दाबी गरेका छन्।

डा. यादव गत १४ चैतमा बीर अस्पतालबाट सरुवा भएर गेटा अस्पताल आएका हुन्। आएलगत्तै उनले पहिलेको पाँच सदस्यीय खरिद समिति भंग गरेर नयाँ तीन सदस्यीय समिति गठन गरे, जसमा आफूअनुकूल निर्णय हुने रणनीति अपनाइएको भन्दै आलोचना भइरहेको छ। नयाँ समितिमा डा. जगदीश विष्ट संयोजकका रूपमा र डा. शंकर अधिकारी तथा शाखा अधिकृत सिद्धराज भट्ट सदस्य रहेका छन्।

नयाँ समितिसँगै तीव्र खरिद प्रक्रिया

डा. यादवले १५ चैतदेखि ३१ चैतसम्म चार वटा प्याकेज बनाएर १७ वटा मेडिकल उपकरण खरिदका लागि बोलपत्र आह्वान गरे। यीमध्ये केही उपकरणका स्पेसिफिकेशन विशिष्ट कम्पनीसँग मिल्ने गरी बनाइएको भन्दै प्रक्रियामाथि प्रश्न उठाइएको छ। उदाहरणका लागि, मेडिकल ग्यास पाइपलाइन सिस्टममा GCIE कम्पनीकै मोडल उल्लेख गरिएको छ भने अन्य उपकरणहरू पनि निश्चित ब्रान्डसँग मिल्नेगरी उल्लेख गरिएको छ।

बायोमेडिकल इन्जिनियर काजमा, पुराना इन्जिनियर बाइपास

अस्पतालमै कार्यरत बायोमेडिकल इन्जिनियर हरेन्द्र चटौतलाई बाइपास गर्दै काठमाडौँस्थित प्रसूति गृहबाट अमृत प्रसाद भण्डारीलाई काजमा ल्याइएको छ। काजमा आएका भण्डारीले ३ दिनमै उपकरणको स्पेसिफिकेशन तयार पारेको देखिएको छ, जसले प्रक्रियाको विश्वसनीयतामा प्रश्न उठाएको छ। केहीले त स्पेसिफिकेशन पहिले नै तयार गरिएको आशंका समेत व्यक्त गरेका छन्।

खरिद प्रक्रियाबारे अस्पतालका लेखा तथा प्रशासन शाखाका कर्मचारीहरूमध्ये धेरैजना बेखबर रहेको बताएका छन्। एक कर्मचारीले नाम नखुलाउने सर्तमा भने, “अहिले अस्पतालमा केही कर्मचारी मात्रै निर्णय प्रक्रियामा छन्, बाँकीलाई जानकारी नै दिइएको छैन।”

पूर्व निर्देशक डा. अशोक श्रीपाईलीको नेतृत्वमा बनाइएको वार्षिक खरिद योजनालाई पनि संशोधन गरी राष्ट्रिय होइन अन्तर्राष्ट्रिय स्तरको खरिद प्रक्रिया थालिएको छ। आलोचकहरू भन्छन्, “योजना संशोधनको पछाडि आर्थिक हितसम्बन्ध लुकेको छ।”

यसबारे प्रतिक्रिया दिंदै डा. यादवले भने, “माथि लगाइएका सबै आरोपहरू निराधार छन्। खरिद समिति कानुन अनुसार परिवर्तन गरिएको हो र उपकरण खरिद वार्षिक कार्य योजनाअनुसार नै भइरहेको छ।” उनले स्पेसिफिकेशनमा त्रुटी भेटिएमा औपचारिक रूपमा जानकारी आएपछि संशोधन गर्न तयार रहेकाे बताएका छन्।

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  १२:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update