Paschim Express
भारतको पूर्णागिरीबाट फर्केका ४० तीर्थयात्री बिरामी

कैलाली । पूर्णागिरी मन्दिरको तीर्थयात्राबाट फर्किएका कैलालीको जोशीपुर गाउँपालिका–१ का ४० जना स्थानीय बिरामी परेका छन्। बाटोमा बिक्री हुने अस्वस्थकर फास्ट फूड सेवनपछि उनीहरूमा स्वास्थ्य समस्या देखिएको हो।

जोशीपुर गाउँपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक नृपबहादुर डङ्गौराका अनुसार तीर्थयात्राको क्रममा ती व्यक्तिहरूले सडक छेउछाउमा बेचिने समोसा, पकौडा, चाउमिन लगायतका परिकार खाएका थिए। खराब वा बिग्रिएको खाना खाएका कारण उनीहरूमा पेटसम्बन्धी समस्या देखिएको बताइएको छ।

बिरामीमध्ये ३७ जनालाई औषधि दिइएको छ भने तीन जनालाई अवस्था गम्भीर भएपछि पिरपरकोटी आधारभूत स्वास्थ्य केन्द्रमा भर्ना गरिएक‍ो छ। बिरामीहरूमा ज्वरो, बारम्बार पातलो दिसा, पेट दुख्ने, बान्ता आउने, पेट फुल्नेजस्ता लक्षण देखिएको छ।

एकै वडामा धेरै संख्यामा मानिस बिरामी परेपछि प्रदेश जनस्वास्थ्य प्रयोगशाला र जिल्ला स्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मीको टोली जोशीपुर पुगेको छ। उनीहरूले थप परीक्षणका लागि नमुना सङ्कलन गर्ने तयारी गरिरहेका छन्।

स्थानीयहरूका अनुसार वैशाख १६ गते जोशीपुरबाट ४२ जना तीर्थालु पूर्णागिरी मन्दिरको दर्शनका लागि गएका थिए। भारतको उत्तराखण्ड राज्य अन्तर्गत चम्पावत जिल्लामा अवस्थित पूर्णागिरी मन्दिरमा फागु पूर्णिमादेखि बैशाख पूर्णिमासम्म मेला लाग्ने चलन छ। उक्त समयमा नेपालबाट हजारौँको संख्यामा श्रद्धालु त्यहाँ पुग्ने गर्छन्।

स्वास्थ्यकर्मीहरूले तीर्थयात्राका क्रममा अस्वस्थ वातावरणमा तयार गरिएका खानाका वस्तुहरू जथाभावी नखान आम नागरिकलाई सचेत गराएका छन्।

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update