
कैलाली । नेपाल सरकारले निःशुल्क वितरण गर्दै आएको ९८ प्रकारका औषधिहरूमध्ये ‘आइरन चक्की’ सुदूरपश्चिमका अधिकांश स्वास्थ्य संस्थामा अभाव भएको छ। डोटी, अछाम, बाजुरा, डडेल्धुरा, कञ्चनपुर र कैलाली जिल्लाका अस्पताल तथा स्वास्थ्य चौकीमा चक्की नहुँदा गर्भवती महिला निराश भएर फर्किन थालेका छन्।
डोटीका जिल्ला स्वास्थ्य प्रमुख रमेश मलासीका अनुसार केन्द्रबाट बजेट नआएकाले औषधि खरिद रोकिएको हो। “हामीले सबै पालिकालाई आफैं खरिद गर्न अनुरोध गरेका छौं,” उनले भने। अछाममा ५,६०० गर्भवती महिला छन् तर अप्रिलमै म्याद सकिएको २० हजार ट्याब्लेट बाहेक औषधि छैन।
कैलालीमा पनि समस्या उस्तै छ। आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख झनक ढुंगानाका अनुसार असारसम्म सबै स्थानीय तहलाई आफैं औषधि व्यवस्थापन गर्न पत्र पठाइएको छ। निजी क्लिनिकमा भने चक्की बिक्री भइरहेकाले गरिब र ग्रामीण महिलाहरू बढी प्रभावित भएका छन्।
स्वास्थ्यकर्मीहरू भन्छन्, 'आइरन चक्की अभावले गर्भवती महिला र नवजात शिशुको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ।'