Paschim Express
पूर्वाधार मात्र होइन, शैक्षिक गुणस्तरमा पनि जोड दिनुपर्छ : मन्त्री खड्का

डडेल्धुरा - सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले डडेल्धुराको नवदुर्गा गाउँपालिका–५, चौड बान्नीस्थित भूमिराज आधारभूत विद्यालयको नयाँ भवन शिलान्यास गरेकी छन्। 

कार्यक्रममा बाेल्दै उनले  शिक्षा र पूर्वाधार दुवै क्षेत्रमा सन्तुलित लगानी आवश्यक रहेको बताइन्। "पूर्वाधार मात्र होइन, शैक्षिक गुणस्तर सुधारमा पनि विशेष ध्यान दिनुपर्छ," उनले भनिन्।

बजेटमा पारदर्शिता नहुँदा योजना काटिने चेतावनी दिंदै उनले भनिन्, "योजना कहाँ किनबेच हुन्छ भन्ने जानकारी दिनुहाेला, सिधै योजना हटाइनेछ।"

राज्यमन्त्री खड्काले सडक स्तरोन्नति, शिक्षा र भौतिक पूर्वाधारमा केन्द्र–प्रदेश–स्थानीय सबै तहको सहकार्य आवश्यक रहेको बताउँदै भनिन्, “पार्टीभन्दा माथि उठेर विकासका काममा सबै एक भएर लाग्नुपर्छ।”

शिलान्यास कार्यक्रममा नेपाली कांग्रेस नवदुर्गा गाउँपालिका सभापति तथा वडा नं. १ का वडा अध्यक्ष शेरबहादुर साउदले व्यक्ति केन्द्रित विकासभन्दा सामाजिक रूपान्तरणमा आधारित विकासलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। उनले भने, “व्यक्तिमा केन्द्रित योजना होइन, समाजलाई समेट्ने विकास नै दीर्घकालीन हुन्छ।”

a73783bb-2304-445e-8bd8-16d9f9edd6ff-1746525437.jpeg
 

साउदले नवदुर्गा गाउँपालिकाको आफ्नै आयस्रोत कमजोर रहेको र स्थानीय सरकारसँग सहकार्य नहुँदा धेरै योजना बाहिरिएको गुनासो गरे। "स्थानीय तहको आर्थिक आत्मनिर्भरताबिना दिगो विकास सम्भव छैन," उनले जोड दिए।

विद्यालय भवन निर्माणका लागि सामाजिक विकास कार्यालय डडेल्धुराबाट २४ लाख ११ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ। सो बजेटबाट दुई कोठे पक्की भवन निर्माण गरिनेछ।

कार्यक्रममा सामाजिक विकास कार्यालय डडेल्धुराका प्रमुख राधाकृष्ण जोशी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष धनबहादुर साउद तथा स्थानीयवासीको उपस्थिति थियो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष साउदले विकट भौगोलिक अवस्थाका कारण आफ्नो क्षेत्र विकासका अवसरबाट पछाडि परेको बताए। भत्ता र सरकारी सेवा बुझ्नसमेत कठिनाइ भइरहेको उनले उल्लेख गरे।

 

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update