Paschim Express
डडेल्धुरा पुगेर देउवालाई प्रचण्डको फोन, के भयो कुराकानी ?

डडेल्धुरा । पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच टेलिफोन संवाद भएको छ। माओवादीको मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानको शुभारम्भका लागि देउवाको गृह जिल्ला डडेल्धुरा पुगेका प्रचण्डले देउवासँगको संवादबारे पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन्।

डडेल्धुरा पुग्नासाथ प्रचण्डले देउवालाई फोन गरी “तपाईंको जिल्ला आइपुगेको छु” भनेर जानकारी गराएका थिए। देउवाले “मेरो जिल्लामा न्यानो स्वागत छ” भन्दै अभियान सफल रहोस् भनेर शुभकामना व्यक्त गरेका थिए। दुई नेताबीचको संवादलाई ‘जानकारीमूलक र सौहार्दपूर्ण’ रहेको प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले बताएका छन्।

प्रेस सेन्टर नेपाल डडेल्धुराले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले आफ्नो पार्टी सरकार बनाउने वा भत्काउने खेलमा नरहेको स्पष्ट पारे। उनले भने, “सरकार बनाउने र ढाल्नेभन्दा अहिले हाम्रो ध्यान जनतामाझ जाने र सरकारको गलत कार्यविरुद्ध खबरदारी गर्नेमा छ।”

त्यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीसँगको विगतको सहकार्यप्रति असन्तुष्टि जनाउँदै उनले वाम एकता पुनः २०८४ को चुनावअघि सम्भव नदेखिएको बताए। “हामीले प्रयास गर्‍यौं, एकता पनि भयो, तर अन्ततः धोका खाइयो,” उनले भने, “पार्टीभन्दा बढी जनताले धोका पाए।”

माओवादीको ‘हुलाकी राजमार्ग जागरण अभियान’ सफल भएको दाबी गर्दै प्रचण्डले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानबाट सुदूरपश्चिममा ऐतिहासिक जनसहभागिता देखिएको उल्लेख गरे। उनले सुदूरपश्चिमलाई माओवादीले सधैं प्राथमिकतामा राखेको भन्दै, “अब सुदूरपश्चिमले गति लिनेछ” भने।

साथै, उनले संक्रमणकालीन न्यायको विषयमा सरकार गम्भीर हुनुपर्ने, पीडितमैत्री समाधान खोज्न शान्ति सम्झौताका मर्मअनुसार अघि बढ्नुपर्ने धारणा राखे।

डडेल्धुरा जिल्लाको भूगोल, जलवायु र सम्भावनाको प्रशंसा गर्दै प्रचण्डले राज्यले उत्पादन र अवसर सिर्जनामा ध्यान दिनुपर्ने बताए। उनले सुदूरपश्चिम विश्वविद्यालय, सुख्खा बन्दरगाह र स्वास्थ्य विज्ञान विश्वविद्यालयका परियोजना आफ्नो कार्यकालमा सुरु भएको उल्लेख गर्दै तथ्य नबिगार्न आग्रह गरे।

उनको नेतृत्वमा रहेको अभियान बैतडीको पाटन हुँदै अगाडि बढ्नेछ। स्थानीय जनताको भव्य स्वागतबीच उनले सरकारलाई खबरदारी, जनतासँग संवाद र सुदूरपश्चिमको विकासमा माओवादीको स्पष्ट प्रतिवद्धता दोहोर्‍याए।

प्रकाशित मिति: शुक्रबार, जेठ ३, २०८२  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update