Paschim Express
‘गन्यापधुरा संवाद’देखि ‘प्रचण्ड कल’सम्म: डडेल्धुराबाट देउवा सम्झने संयोग कि संकेत ?

काठमाडौं । डडेल्धुरामा पछिल्लो समय नेपालको सत्ता राजनीतिका दुई प्रमुख पात्र पुग्दा, एउटै नाम बारम्बार सार्वजनिक रूपमा उच्चारित भयो,  शेरबहादुर देउवा। प्रधानमन्त्री केपी शर्मा ओली २०८० मंसिर १५ मा डडेल्धुरा पुगे, अनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल २०८२ जेठ २ मा। दुवैले त्यहाँ पुगेर देउवालाई ‘टेलिफोन’ गरे, अनि त्यो संवाद सार्वजनिक गरे। संयोग मात्र हो त? कि सोची-सम्झिएर गरिएको राजनीतिक सन्देश ?

२०८० मंसिर १५ मा प्रधानमन्त्री ओलीले डडेल्धुराको अमरगढी बजार नजिकै गन्यापधुरा गाउँपालिका क्षेत्र पुग्दा, उनले देउवाको सम्झना गरे। “मेरा मित्र शेरबहादुर देउवाको गृहजिल्ला। यहाँ आएपछि उहाँलाई कल गरौं भन्ने लाग्यो,” ओलीले भनेका थिए। उनले देउवालाई आफू अमरगढी बजारनजिकै रहेको जानकारी दिँदै फोनमार्फत हालखबर सोधेका थिए।

त्यसको केही बेरमै उनले उक्त संवादको भिडियो आफ्नै फेसबुकमा राखे। क्याप्सनमा लेखिएको थियो, ‘यहाँ आएपछि उहाँलाई कल गरौं भन्ने लाग्यो। उहाँले आफू काठमाडौंमा भए पनि डडेल्धुरामा स्वागत छ भन्नुभयो। धन्यवाद शेरबहादुरजी।’ साथै ओलीले स्पष्ट पारे, ‘सचिवालयले गुडविल कलको रूपमा भिडियो बनाएको रहेछ, त्यसैले पोस्ट गरेको हुँ।’

यसैको दुई वर्षपछि, ठीक त्यही शैलीमा माओवादी अध्यक्ष दाहालले पनि डडेल्धुरा पुगेर पत्रकार सम्मेलनमै देउवाको नाम लिए। उनले भने, “शेरबहादुर देउवा जीसँग सम्पर्क भयो। उहाँले ‘मेरो जिल्लामा स्वागत छ’ भन्नुभयो।”

दाहालले कांग्रेसका स्थानीय नेताहरूसँग पनि भेटघाट भएको र सकारात्मक वातावरण रहेको जनाए। तर पत्रकारले सरकार फेरबदलबारे सोध्दा उनी टार्ने शैलीमा प्रस्तुत भए।

राजनीतिक शैली कि शक्ति खेल?
ओली र दाहाल दुवै प्रधानमन्त्री बनेका नेता हुन् र दुबैको सत्तारोहणमा देउवाको समर्थन निर्णायक रहँदै आएको छ। यसैले डडेल्धुरा पुगेर सार्वजनिक रूपमा देउवालाई सम्झनु सामान्य मित्रताको आवरणमा लुकेको राजनीतिक संकेत हो भन्ने चर्चा बलियो छ।

दुई वर्षअघि ओली प्रतिपक्षमा थिए, अहिले दाहाल छन्। त्यो बेला ओलीले मध्य पहाडी लोकमार्गको यात्रा गर्दै गर्दा देउवाको टेलिफोन संवाद अघि सारेका थिए। अहिले ठीक त्यही यात्रा दाहालले गरिरहेका छन्, अनि उनले पनि त्यही शैली दोहोर्याएका छन्।

विश्लेषकहरू भन्छन् 'यो संवादभन्दा बढी ‘सन्देश’ हो। खासगरी सत्ता समीकरणमा देउवाको भूमिका केन्द्रमै रहेको सन्दर्भमा, दाहाल र ओली दुवैको यस्तो प्रस्तुति संवादभन्दा रणनीति लाग्छ।'

डडेल्धुरा पुगेपछि देउवालाई सम्झनु संयोगमात्र होइन, सत्ता समीकरणमा संकेत दिने ढंगले प्रयोग भएको व्यवहार देखिन्छ। त्यो मित्रवत् संवाद मात्र हो कि रणनीतिक चालबाजी, यसको उत्तर समयले दिनेछ।

प्रकाशित मिति: शनिबार, जेठ ४, २०८२  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update