
डडेल्धुरा । नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवसको अवसरमा नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम गर्दै आएको छ। यसैक्रममा बुधवार डडेल्धुरास्थित रक्त सञ्चार केन्द्रमा स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आयोजित कार्यक्रममा युनियनका पदाधिकारी, पत्रकार, रक्त सञ्चार केन्द्रका कर्मचारी तथा स्थानीय रक्तदाता शेर बोगटी सहभागी थिए। कार्यक्रममा रक्तदानसँगै सहभागीहरूको सामान्य स्वास्थ्य परीक्षण पनि गरिएको थियो।
युनियनका अध्यक्ष योगेन्द्र रावलले रक्तदान तथा स्वास्थ्य परीक्षण कार्यक्रमले प्रेस युनियनको सामाजिक भूमिकालाई अझ बलियो बनाउने बताए। “सञ्चारमाध्यमको भौतिक र पेशागत सुरक्षासँगै सामाजिक उत्तरदायित्व पनि महत्वपूर्ण हुन्छ,” उनले भने, “यस्ता जनकल्याणकारी कामहरू आगामी दिनमा पनि निरन्तर गरिन्छन्।”
यसअघि मंगलबार डडेल्धुरा अस्पतालमा फलफूल वितरण गरेर स्थापना सप्ताहको सुरुवात गरिएको थियो। ३८ जना बिरामीलाई फलफूल वितरण गरिएको उक्त कार्यक्रममा डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नरेन्द्र खनाल, युनियन पदाधिकारी तथा स्वास्थ्यकर्मीहरूको सहभागिता थियो।
यस वर्षको स्थापना दिवस ‘भौतिक र पेशागत सुरक्षा सहित पत्रकारको सम्मानजनक पहिचान’ भन्ने नारासहित मनाइँदै छ।