
डडेल्धुरा । "मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो" भन्ने मूल नाराका साथ डडेल्धुरा जेसीज २०२५ ले गन्यापधुरा गाउँपालिका–४, जैसेरास्थित भुवनेश्वरी नमुना माध्यमिक विद्यालयमा रहेका बौद्धिक अपांगता भएका १२ जना विद्यार्थीलाई लक्षित गरी राहत वितरण तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको छ।
सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरूलाई लत्ता–कपडा, झोला, सरसफाइ सामग्री र नगदसहितका आवश्यक सामग्री वितरण गरिएको थियो।
स्वास्थ्य परीक्षणको क्रममा डडेल्धुरा अस्पतालका डा. अनिल महरद्वारा विद्यार्थीहरूको प्रारम्भिक स्वास्थ्य जाँच गरिएको थियो। परीक्षणको क्रममा केही विद्यार्थीहरूमा दाँत र आँखासम्बन्धी समस्या देखा परेपछि शिखर डेन्टल क्लिनिक र अन्नपूर्ण अप्टिकल, डडेल्धुरा मार्फत उनीहरूलाई निःशुल्क औषधि तथा उपचार प्रदान गरिने प्रतिबद्धता जनाइएको छ।
कार्यक्रमका संयोजक डडेल्धुरा जेसीज अध्यक्ष मोहन देउवाले सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिएका छन्।