
काठमाडौं । पूर्व प्रधानमन्त्री माधव नेपालविरुद्ध दायर भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ करोड ५८ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ ।
नेपालसहित तत्कालीन मुख्य सचिव माधव घिमिरे र सचिवहरू छविराज पन्त र प्रेमसिंह बस्नेतसहित ९३ जनाविरुद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । पतञ्जलिका नाममा हदबन्दी छुटमा जग्गा खरिद गर्न दिएको र किनेको दुई महिना नबित्दै गैरकानुनी रूपमा हाउजिङ कम्पनीलाई बेच्ने स्वीकृति दिई भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध अभियोगपत्र दायर भएको हो ।
२०६६ सालमा भारतीय योगगुरु रामदेवको लगानी रहेको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेको बनेपामा ५ सय ९३ रोपनी जग्गा खरिद गरी ३ सय ५३ रोपनी हाउजिङ कम्पनीलाई बेचिएको बताइएको छ ।
नेपालविरुद्ध आज मुद्दा दर्ता भएसँगै सांसद पद स्वतः निलम्बनमा परेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ साथै भ्रष्टाचार निवारण ऐन, २०५८ मा सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भए स्वतः निलम्बन हुने प्रावधान छ ।
नेपाल निलम्बनमा परेको आधिकारिक पत्र प्राप्त भएपछि सभामुखले सदनलाई जानकारी गराउने छन् ।