
धनगढी । नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले आन्तरिक एकता नभए सुदूरपश्चिम प्रदेशमा एमाले शून्यमा झर्नसक्ने बताएका छन् । नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन गर्दै इञ्चार्ज भट्टले यस्तो बताएका हुन् ।
पार्टी गतिशिलि र एकतावद्ध भए ०८४ को निर्वाचनमा प्रदेशमा रहेका १६ वटै प्रतिनिधिसभा निर्वाचनमा एमाले विजयी हुने उनको भनाई थियो । ‘आन्तरिक एकता पैदा भएन भने दुईबाट जिरोमा पनि झर्नसक्छौं,’ भट्टले भने । ०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सुदूरपश्चिममा रहेका १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एमाले दुई क्षेत्रमा विजयी भएको थियो ।
‘हामी जवज र ०८४ भन्छौ, हामीले त्यो धरातल तयार गरेका छौं की छैनौं भन्ने हो,’ भट्टले भने, ‘जवज भनेको हाम्रा प्रतिस्पर्धीलाई चुनावबाट परास्त गर्ने भनेको हो । तर, हामी प्रलोभनमा पर्छाैं । कहिले रुखको, कहिले हँसिया हतौडाको, कहिले हलाको बन्छौ । तर बाहिर आउँदा फेरि एमालेकै बन्छौं ।’
भट्टले पार्टी नेतृत्वमाथि आक्रमण भइरहेको भन्दै आन्तरिक एकता हुनुपर्नेमा जोड दिए । सचिव भट्टले पार्टी अध्यक्षको आत्मबल र सक्रियता सबैका लागि प्रेरणादायी भएको उल्लेख गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई आत्मसाथ गरेर अघि बढ्नुपर्ने बताए ।