Paschim Express
नेपालमै पहिलोपटक डडेल्धुराका प्रशान्तले बनाए ‘मातंगी’ फन्ट, ३ दिनमै करिब ५ लाखपटक डाउनलोड

डडेल्धुरा ।  नेपालमै पहिलोपटक देवनागरी लिपिको भेरिएबल फन्ट निर्माण गरी गुगल फन्ट्समा सूचीबद्ध गराउने उपलब्धि डडेल्धुराका २५ वर्षीय युवा प्रशान्त पन्तले हासिल गरेका छन्। ‘मातंगी’ नाम दिइएको उक्त फन्ट सार्वजनिक भएको तीन दिनमै करिब पाँच लाखपटक डाउनलोड भइसकेको छ।

अमरगढी नगरपालिका–२ सेराका पन्तले ३ वर्ष अघिदेखि गाउँमै बसेर यो फन्ट निर्माण गरेका हुन्। फाइनआर्टमा स्नातक गरेका उनी पेशाले टाइप डिजाइनर, ग्राफिक्स डिजाइनर तथा फन्ट इन्जिनियर हुन्। उनले यसअघि मनमोहन अस्पतालका लागि उग्रतारा फन्ट तयार गरेका थिए ।

‘मातंगी’ फन्ट नेपालबाट गुगल फन्ट्समा समावेश हुने पहिलो भेरिएबल फन्ट हो। भेरिएबल फन्ट भन्नाले एउटै फन्ट फाइलभित्र विभिन्न मोटोपन, चौडाइ, इटालिकसहितका स्टाइल समावेश गर्न सकिने फन्ट हो। यसले डिजाइन र वेब विकासमा सहजता ल्याउँछ। पन्तका अनुसार यो फन्टले नेपाली, संस्कृत, मराठीसहित ४०० भन्दा बढी भाषाहरूलाई समर्थन गर्छ। यसका लागि उनले करिब १,७०० भन्दा बढी क्यारेक्टर डिजाइन गर्नुपरेको थियो।

गुगल फन्ट्समा सूचीबद्ध हुनका लागि कडा मापदण्ड पूरा गर्नु पर्ने हुन्छ। त्यसैले यसमा धेरै समय लागेको पन्त बताउँछन्। फन्टको नाम हिन्दु देवी मातंगीको नामबाट राखिएको हो। पन्तले यसअघि ‘उग्रतारा’, ‘कामाक्षी’, ‘वैदेही’जस्ता फन्टहरू पनि तयार पारेका छन्, जुन उनका निजी वेबसाइटमार्फत उपलब्ध छन्।

गाउँमै बसेर काम गर्दा समाजले "घरमै बस्ने" भनेर हेपेको अनुभव उनी सुनाउँछन्। “तर बुबाआमा सधैं साथमा हुनुहुन्थ्यो,” उनी भन्छन्। भारतमा बनेका देवनागरी फन्टहरू प्रयोग हुँदै आएको अवस्थामा, नेपालमै निर्माण भएको फन्ट अन्तर्राष्ट्रिय स्तरमा गुगल फन्ट्समा पुगेकोमा उनी दंग छन्।

“हामी पहिले भारतका डिजाइनरहरूलाई हेरेर प्रेरित हुन्थ्यौं, अहिले हाम्रो फन्ट पनि त्यही स्थानमा पुगेको छ,” उनी भन्छन्।

ओपन फन्ट लाइसेन्स अन्तर्गत उपलब्ध यो फन्ट निःशुल्क हो। वेबसाइट, अनलाइन मिडिया, सरकारी निकायहरूसम्म यसलाई प्रयोग गर्न मिल्नेछ।

पन्तले भविष्यमा नेपालका अरू फन्टहरू पनि अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने लक्ष्य राखेका छन्। “सुदूरपश्चिमबाट पनि विश्वस्तरीय काम गर्न सकिन्छ भन्ने प्रमाण हो यो,” पन्तको भनाइ छ।

पन्त भन्छन्, “गाउँमै बसेर काम गर्दा केही आफन्त र समाजका मानिसहरूले 'काम नगरी घरमै बसेको' भनेर कुरा काटे, तर बुबाआमाले सधैं साथ दिनुभयो।”

उनले वेबसाइट, समाचार पोर्टलहरूमा देखिने ग्रामर र फन्ट त्रुटिहरूको कारण यो फन्ट सबैलाई सित्तैमा उपलब्ध गराउने योजना बनाएका छन्। “मेरो उद्देश्य नेपालका सरकारी कार्यालयदेखि अनलाइन माध्यमसम्म सबैले शुद्ध र स्पष्ट टाइपफेस प्रयोग गर्न पाउनुपर्छ भन्ने हो,” पन्त भन्छन्। 

'मातंगी' देवीको नामबाट प्रेरणा लिइएको यो फन्ट मार्फत उनले सुदूरपश्चिम र डडेल्धुरालाई विश्वमै प्रविधिका माध्यमबाट चिनाउने लक्ष्य लिएका छन्।

प्रकाशित मिति: सोमबार, असार २, २०८२  १५:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update