
डडेल्धुरा । गृहमन्त्री रमेश लेखकले आफूविरुद्ध राजनीतिक षड्यन्त्र चलिरहेको बताउँदै सरकार र नेपाली कांग्रेसलाई कमजोर बनाउन प्रयास भइरहेको आरोप लगाएका छन्। बैतडीको प्रसिद्ध त्रिपुरा सुन्दरी मन्दिरमा लाग्ने मेलामा दर्शन गर्न आउँदै गरेका उनले डडेल्धुरामा आयोजित नेपाली कांग्रेस जिल्ला कार्यसमितिको भेटघाट कार्यक्रममा यस्तो बताएका हुन्।
‘सरकारलाई कमजोर बनाउने र कांग्रेसलाई बदनाम गर्ने षड्यन्त्र भइरहेको छ,’ लेखकले भने, ‘संयुक्त सरकारले सहमतिका आधारमा काम गरिरहेको छ र केही चुनौती हुनु स्वाभाविक हो।’
उनले कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिको आधारमा सरकार गठन भएको र अहिले दुवै पार्टीबीच कुनै समस्या नरहेको स्पष्ट पारे। साथै, अध्यागमन व्यवस्थापन सुधारका लागि माओवादी केन्द्रसँग समेत सहमति भई उच्चस्तरीय समिति गठन भइसकेको जानकारी दिए।
‘कुनै कर्मचारीको अनियमितताले मन्त्रीको चरित्र हत्या गर्ने प्रयास भइरहेको छ,’ उनले आपत्ति जनाउँदै भने, ‘गल्ती गर्ने भए कारबाही अख्तियारले गर्नेछ।’
लेखकले आगामी एक वर्षपछि पार्टी सभापति शेरबहादुर देउवाले पुनः प्रधानमन्त्री पद सम्हाल्ने र २०८४ सालको आम निर्वाचन उहाँकै नेतृत्वमा हुने दाबी गरे।
कार्यक्रममा उनले कांग्रेस कार्यकर्तालाई सचेत रहन आग्रह गर्दै भने, ‘मन्त्रालय वा सचिवालयमा कमजोरी भए सुझाव दिनुस्, म सुधार गर्न तयार छु’ भने।
गृहमन्त्री लेखक परिवारसहित बैतडीको त्रिपुरा सुन्दरी मन्दिरमा दर्शन गर्न गएका छन्। मेलाको पूर्वसन्ध्यामा डडेल्धुरामा कांग्रेस कार्यकर्तासँग आयोजित भेटघाट कार्यक्रम सम्पन्न भयो।