
कैलाली । सुदूरपश्चिम प्रदेशका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा रेविजविरुद्धको खोप (एआरभी) अभाव देखिएको छ। करिब दुई महिनादेखि सरकारी खोप वितरण केन्द्रसँग मौज्दात खोप नहुँदा अधिकांश स्वास्थ्य संस्थामा सेवा ठप्प भएको छ।
प्रदेशभर एआरभी खोपको आपूर्ति गर्दै आएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, धनगढीका अनुसार खोप नआएकाले वितरणमा समस्या भएको हो। केन्द्रका सूचना अधिकारी जितेन्द्र बोगटीले भने, “स्वास्थ्य संस्थाहरूबाट खोपको माग आइरहे पनि मौज्दात नभएकाले पठाउन सकेका छैनौं।”
खोप अभावका कारण सेवाग्राहीहरू निजी अस्पताल तथा मेडिकल जान बाध्य छन्, जहाँ एक भाइल खोपको शुल्क साढे ६ सय रुपैयाँभन्दा बढी तिर्नुपर्छ। दुर्गम पहाडी क्षेत्रमा त निजी स्वास्थ्य केन्द्रहरूमा समेत खोप सहज रूपमा उपलब्ध छैन।
सुदूरपश्चिमका ३० सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा एआरभी सेवा सञ्चालनमा रहे पनि चाप बढी हुने धनगढीस्थित सेती प्रादेशिक अस्पताल र कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा करिब डेढ महिनायता खोप छैन।
गत साता केन्द्रमा २४० भाइल खोप आए पनि दुई दिनमै सकिएको थियो। सूचना अधिकारी बोगटीले भने, “केही वर्षयता हरेक सिजनमा एआरभी खोपको अभाव देखिँदै आएको छ। सरकारले नै खोप उपलब्ध गराउने भएकाले अस्पतालहरूले छुट्टै योजना बनाउँदैनन्।”
बोगटीले दुर्गम क्षेत्रका सर्वसाधारणले निजी मेडिकलमा समेत खोप नपाउने अवस्था रहेको बताउँदै खोपको भण्डारण र वितरण प्रणाली अझ सुदृढ गर्नुपर्नेमा जोड दिएका छन्।