Paschim Express
सुदूरपश्चिमका स्वास्थ्यकर्मी आन्दोलित, आकस्मिकबाहेक सेवा बन्द

कैलाली । सुदूरपश्चिम प्रदेशका सम्पूर्ण स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरू प्रदेश सरकारले ल्याएको नयाँ कानुनको विरोधमा आन्दोलित भएका छन्।

प्रदेश सरकारले हालै जारी गरेको ‘स्थानीय तह (गठन तथा सञ्चालन) ऐन, २०८१’ अन्तर्गतको समायोजनसम्बन्धी व्यवस्था आपत्तिजनक रहेको भन्दै स्वास्थ्यकर्मीहरू विरोधमा उत्रिएका हुन्।

‘स्थानीय तह स्वतन्त्र स्वास्थ्यकर्मी सङ्घर्ष समिति, सुदूरपश्चिम’ले विज्ञप्ति जारी गर्दै आइतबारदेखि आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरिएको जनाएको छ। समिति अनुसार ८८ वटै स्थानीय तहका स्वास्थ्य संस्थाहरूबाट प्रवाह हुँदै आएको सबै सेवा स्थगित गरिएको हो। विज्ञप्तिमा असार महिनाको मासिक रिपोर्ट पनि प्रविष्ट गर्न नसकिने उल्लेख गरिएको छ।

सङ्घर्ष समितिका संयोजक राजेन्द्रसिंह साउँदले स्वास्थ्यकर्मीहरूको न्यायोचित मागबारे सम्बन्धित निकायलाई पटकपटक जानकारी गराउँदा पनि सुनुवाइ नभएपछि सेवाहरू बन्द गरिएको बताए। उनका अनुसार आन्दोलनको अंशस्वरूप आइतबार पनि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि धर्ना दिइएको छ।

स्वास्थ्यकर्मीहरूले कर्मचारी समायोजन ऐन, २०७५ अनुसार दरबन्दी, सेवा सुविधा र समायोजनको प्रक्रिया लागू हुनुपर्ने माग राख्दै आएका छन्। 

प्रकाशित मिति: आइतबार, साउन ५, २०८२  १४:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update