Paschim Express
‘एक विद्यालय एक नर्स’ कार्यक्रमले स्वास्थ्य सुधारमा देखाएको सफलता

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिकास्थित महेन्द्र माविमा कार्यरत नर्स शदिक्षा जैरु पाँच वर्षभन्दा लामो समयदेखि विद्यालयमा विद्यार्थीलाई परामर्श, सल्लाह सुझाव र प्राथमिक उपचार गर्दै आएकी छन्। उनी खासगरी किशोरीहरूमा देखिने मास्ट हिस्टेरिया, कन्भजन डिसअर्डर, काम्ने, कराउने, डराउने र बेहोस हुने जस्ता समस्याहरूसँग नियमित जुधिरहेकी छन्।

यी समस्या धर्मसँग जोडेर हेरिने प्रचलन रहेपनि अहिले अभिभावकहरू सजिलै बुझ्न थालेका छन्। शदिक्षाले सेनेटरी प्याड सम्बन्धी परामर्श, व्यक्तिगत सरसफाइ, राष्ट्रिय अभियान सञ्चालन, लागूऔषध दुव्र्यसनी तथा अन्य रोगबारे जानकारी र सचेतनामूलक कक्षा सञ्चालन गरिरहेकी छिन्। महिनावारी भएर विद्यालय नआउने समस्या पनि अहिले निकै कम भइसकेको छ।

IMG-20250811-WA0009-1754908208.jpg

त्यस्तै कैलालीको भजनी नगरपालिकास्थित मोहन्याल माविमा कार्यरत नर्स शोभा राजीले पोषणसम्बन्धी अभिमुखीकरण, सरसफाइ सिकाउने, डेंगु रोगबाट बच्ने सचेतना फैलाउने काम गर्दै आएकी छन्। विगत दुई वर्षदेखि उनले समय–समयमा आइरनचक्की खुवाउने र खोप लगाउने काममा खटिने गरेको बताइन्।

विद्यार्थी मात्र नभई शिक्षक र अभिभावकहरूको स्वास्थ्य परीक्षण गराउने चलन पनि बढेको उनले सुनाइन्। ३० भन्दा बढी विद्यालयमा समेत उनी सचेतना कक्षा सञ्चालन गर्दै आएकी छन्। मास्ट हिस्टेरिया पूर्णरुपमा नियन्त्रण गरेको उल्लेख गर्दै उनले धर्मसँग जोडेर हेरिने पुरानो सोच अहिले अभिभावकमा सुधार आएको बताइन्। किशोरहरूको आनीबानी, व्यक्तिगत सरसफाइ, लागूऔषध र मद्यपान दुव्र्यसनीका विषयमा समेत उनी सचेतना दिइरहेकी छिन्। विद्यालय परिसर सरसफाइमा समेत उनको योगदान उल्लेखनीय छ।

अमरगढीकी नर्स शदिक्षा जैरु र भजनीकी शोभा राजीले आफूहरूले गरेको मेहनत अनुसार सेवा सुविधा बढ्नुपर्ने र स्थानीय तहबाट प्रोत्साहन तथा सम्मान पाउनुपर्ने दाबी गरिन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू गरेको छ। यस कार्यक्रमअन्तर्गत किशोरकिशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुधार गर्ने र पोषण स्तर वृद्धि गर्ने लक्ष्य राखिएको छ। यसले मास्ट हिस्टेरिया, यौन हिंसा लगायतका समस्यामा कमी ल्याएको देखिएको छ।

महेन्द्र माविका स्वास्थ्य विषयका शिक्षक किशोर बमले भने, “विद्यालय नर्सले समयमै स्वास्थ्य समस्याको पहिचान गर्ने भएकाले विद्यार्थीलाई गम्भीर रोगबाट बचाउन सहज भएको छ। विशेषगरी किशोरीहरूमा देखिने महिनावारी गडबड जस्ता समस्याको छिटो निदान हुँदा पाठेघरको क्यान्सरजस्ता रोगबाट जोगाउन मद्दत पुगेको छ।”

उनले विद्यालयमा नर्सको उपस्थिति र सक्रियताले विद्यार्थीहरूको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको बताउँदै यस कार्यक्रमले दीर्घकालीन स्वास्थ्य जोखिमहरू न्यूनीकरण गर्न ठूलो भूमिका खेलेको बताए।

IMG-20250811-WA0006-1754908206.jpg
स्वास्थ्य मन्त्रालय, प्याब्सन र एनप्याब्सनको सक्रियतामा २०७३ सालदेखि प्रत्येक विद्यालयमा नर्स राख्ने सैद्धान्तिक सहमति भएको थियो। विद्यार्थीलाई स्वस्थ र फुर्तिलो राख्न यो योजना थालिएको हो। विद्यालयमा नर्सले बालबालिकाको स्वास्थ्य अवस्था जाँच्ने, स्वस्थ रहने बारे जानकारी दिने, जंकफुड प्रयोग निषेध गर्ने र घर तथा विद्यालयमा स्वस्थ खानेकुरा बनाउन सिकाउने काम गर्छन्।

विद्यालयमै नर्सबाट स्वास्थ्य सेवा पाउँदा विद्यार्थीको पठनपाठनमा सुधार आएको र नियमित स्वास्थ्य परीक्षणले विद्यालय छोड्ने तथा कक्षा छुटाउने समस्या कम भएको विद्यालयहरूले बताएका छन्।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी धर्मानन्द गिरीका अनुसार प्रदेश सरकारले स्वस्थ जीवनशैली विकास गर्ने र यौन तथा प्रजनन स्वास्थ्य सुधार गर्ने उद्देश्यले यस कार्यक्रमलाई प्राथमिकता दिएको छ।

निर्देशनालयकै जनस्वास्थ्य निरीक्षक तथा ‘एक विद्यालय एक नर्स’ कार्यक्रमका फोकल पर्सन भोजराज जोशीले हाल प्रदेशभर ५४  विद्यालयमा उक्त कार्यक्रम जारी रहेको बताए । उनका अनुसार संघीय सरकार अन्तर्गतबैतडी र डडेल्धुरामा उक्त कार्यक्रमका लागि नर्स कार्यरत छन् । बैतडीको दथरथचन्द नगरपालिकामा ९ जना, डडेल्धुराको अमरगढी नगरपालिकामा ६ जना  र डडेल्धुराकै अजयमेरुमा ५ जना गरी २० जना नर्स काम गरिरहेका छन् ।

बाँकी अन्य जिल्लाका ३४ विद्यालयमा प्रदेश सरकार तथा स्थानीय सरकारमार्फत उक्त कार्यक्रमका लागि नर्स कार्यरत रहेको फोकल पर्सन जोशीले बताए । उनले बाजुराका कुनै विद्यालयमा उक्त कार्यक्रम लागू नभएको बताए । 

प्रकाशित मिति: सोमबार, साउन २७, २०८२  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update