
कैलाली । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले लामो समयदेखि स्थगित रहेको गेटा मेडिकल कलेजलाई अब शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रूपमा छिट्टै सञ्चालनमा ल्याइने बताएका छन्।
बिहीबार नेपाल प्रेस युनियन, कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले विश्वविद्यालय सञ्चालनका लागि कुनै अवरोध नरहेको र यसलाई राष्ट्रिय आवश्यकताको रूपमा अघि बढाउन सरकार दृढ रहेको स्पष्ट पारे। उनका अनुसार आवश्यक विधेयक संसदबाट पारित गर्ने, भौतिक संरचना निर्माण गर्ने र पदाधिकारी नियुक्त गर्ने काम चरणबद्ध रूपमा अघि बढाइरहेको छ।
‘हाल ६ वटा प्रदेशमा मेडिकल कलेज सञ्चालनमा छन्, बाँकी रहेको एक मात्र प्रदेशमा मेडिकल कलेज स्थापना गर्नु हाम्रो दायित्व हो,’ मन्त्री पौडेलले भने।
उनले विगतमा संघ र प्रदेशबीचको अधिकारसम्बन्धी विवादका कारण गेटा मेडिकल कलेज सञ्चालनमा ढिलाइ भएको स्वीकार गर्दै अब त्यसलाई विवादको विषय होइन, जनताको आवश्यकता र स्वास्थ्य क्षेत्रमा अपरिहार्य पूर्वाधारको रूपमा लिनुपर्ने बताए।
‘गेटा अस्पताललाई ३०० शैय्यामा विस्तार गरेर मेडिकल कलेज सञ्चालन गर्ने तयारी थियो, तर अधिकार विवादका कारण निर्णय कार्यान्वयन हुन सकेन,’ मन्त्री पौडेलले स्मरण गरे।
गेटा मेडिकल कलेजलाई आफ्नो पहिलो प्राथमिकताको परियोजनामा राखेको बताउँदै मन्त्री पौडेलले यसलाई आफ्नै कार्यकालमा पूर्ण रूपमा सञ्चालन गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे। उनका अनुसार हालसम्म देखिएको पहलले अस्पतालमा सेवाग्राहीको चापसमेत उल्लेख्य रूपमा बढेको छ।
‘पहिले दैनिक ५० जना बिरामी उपचारका लागि आउँथे, अहिले भने दैनिक ३०० जना बिरामी पुग्ने गरेका छन्,’ उनले बताए।