
डडेल्धुरा । एमएमएको रिङमा रविन्द्र ढाँटको नाम चर्चित बनेको छ। भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा साविक विजेता भारतीय फाइटर चोङ्गरेङ्ग कोरेनलाई तेस्रो राउन्डको ५४औँ सेकेन्डमै नकआउट गर्दै रविन्द्रले बान्टमवेट बेल्ट जितेपछि उनी नेपाली खेलकुद जगतका नायक बनेका छन्।
तर यो चम्किलो बेल्ट पछाडि भने एकजना मजदुरको संघर्ष, सपना र आँटको कथा लुकेको छ। रविन्द्र आजका च्याम्पियन हुन्। तर केही वर्षअघि उनी त्यही व्यक्ति थिए, जसले भारतको दिल्लीको गार्मेन्ट कारखानामा काम गर्दै कराँते सिक्न थालेका थिए।
उनी एमएमए के हो भन्ने नै नबुझी दिल्ली पुगेका थिए। रोजीरोटीका लागि भारत हिँडेका रविन्द्र अहिले भने रिङमा प्रतिद्वन्द्वीहरूलाई नकआउट गर्दै नेपालको नाम उच्च बनाइरहेका छन्।
बझाङको बित्थडचिर गाउँपालिकाबाट दिल्लीसम्म पुगेका रविन्द्रको एमएमए यात्रा चौंकाउने खालको छ। सुरुमा केवल कराँते सिक्ने उद्देश्यले लागेका उनी एमएमएतर्फ मोडिए। दिल्लीका जिमहरूमा एम्याचोर फाइट खेले, घाइते भए र सिके।
त्यही मेहनतको फलस्वरूप नेपाल फर्किएर पहिलो पटक फस्ट वारियर च्याम्पियनसिप मा खेले, जहाँ भारतीय फाइटर ज्यासन ल्यान्डोलाई पछाडिबाट ‘रेयर न्याकेड चोक’ लगाएर जित निकाले। त्यो उनकाे पहिलो प्रोफेसनल जित थियो।
रविन्द्र वान च्याम्पियनसिपमा पुग्ने पहिलो नेपाली फाइटर बने। रसियन फाइटर टोरेप्चि डोनगाकलाई हराउँदै उनले अन्तर्राष्ट्रिय सर्कलमा आफ्नो नाम कमाए। पाकिस्तानका ईस्माइल खानसँग हार खाँदै उनको अपराजित यात्रा रोकिए पनि उनी पछाडि फर्किएनन्।
आजको एमएफएन जित त्यसको प्रमाण हो। हारबाट पाठ सिक्ने रविन्द्र अब बेल्ट जित्ने रविन्द्र बनेका छन्। “कुटाइ नखाई कहाँ सिकिन्छ र?” उनी भन्ने गर्थे।